भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिले विछोडमा टुगिंन्छ । त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ । प्रेमलाई दार्शनिक, गुरु वा प्रेमीहरुले आआफ्नै हिसाबले व्याख्या गरेका छन् । दार्शनिक ओशोले भनेका छन्, 'प्रेम सारा जगत् प्रतिको सद्भाव हो । दुखमा त्यो भन्दा पर्तिर दुख्ने ठाउँ छैन र सुखमा हुने आनन्द त्यसमा जति अरु केहीमा छैन ।'प्रेममा दुखी हुनेको कमी छैन, सुखानुभूति गर्ने पनि त्यत्तिकै छन् । मनमा प्रेम कल्पेर रमाउनेमात्रै पनि धेरै छन् ।
मन परेको आफ्नो मनको कुरा सुनाउन १४ फेबु्रअरीको भ्यालेनटाइन डे कुरेर बस्ने पनि कति ,होलान् । रातो गुलाब, गि्रटिङ्स र चकलेट वा अन्य भौतिक उपहारसँगै आफ्नो पे्रमिल भाव......पोको पारेर दिने योजना निकैको होला । किनकि इश्वीको २७० तिर रोमका एक पादरी सेन्ट भ्यालेनटाइनका नाममा सुरु प्रेम दिवस आइतबार मनाइँदैछ । र, यही मेसोमा नेपालका पाँच प्रेम जोडीले प्रेमको फ्ल्यासब्याकसँग साटेका छन् ।
चार रुपैयाँमा पहिलो डेटिङ
दीपक बज्राचार्य
गायक
त्यो हाम्रो दोस्रो भेट र पहिलो डेटिङ थियो । मोटरसाइकल भरखरै किनेको थिएँ । टेलिफोनमा सीमित प्रेम भेटघाटमा बदल्न चाहन्थेँ । ललितपुरको नारायणी होटल नजिकबाट मोटरसाइकलमा उनलाई पहिलो पल्ट लिएर हिंड्दा म उडिरहेछु कि गुडिरहेछु थाहा पाइनँ । टेकुमा साथीको पसल थियो । तर दुर्भाग्य पसल बन्द थियो । त्यसपछि कहाँ जाने सोच्न सकिनँ । रेस्टुरेन्ट जान खल्तीमा चार रुपैयाँमात्रै थियो । त्यसपछि मोटरसाइकल त्रिभुवन पार्कतिर मोडेँ । बाटाभरि कुनै कुरा भएन । बाइकमा पेट्रोल छ/छैन पनि थाहा थिएन । पार्क पुगेर चार रुपैयाँको तितौरा किनेर दिएँ । केही कुरा नगरी घर फर्किएँ । यो मेरो जीवनमा सधै सम्झिरहने घटना हो ।
हाम्रो प्रेम घुमघाममा सीमित 'फुलबारी प्रेम' थिएन । पाटनकी उनीसित स्कुल पढ्दै गर्दाको उमेरमा प्रेम भयो । पहिलोचोटी देख्दा नाम थाहा थिएन । साथीमार्फत फोन नम्बर पत्ता लगाएँ । कुरकानीपछि थाहा भयो, उनको नाम अमिरा रहेछ । डेढ वर्षमा पहिलोपल्ट भेट भयो तर केही कुरा भएन । एक अर्कालाई हेर्यौँ, हाँस्यौँ र छुट्टियौं । पछि उनकै नाममा बनाएको 'ओ अमिरा' गीतले मलाई निकै चिनायो । झण्डै दश वर्ष साथीजस्तो बिताएपछि विवाह गर्यौँ । अहिले चार कक्षामा पढ्ने १० वर्षकी छोरी चेरिसासँग बसिरहेको छु ।
प्रेमको सजाय-९ चक्कर कुदाइ
देवु थापा
राष्ट्रिय जुडो खेलाडी
जुडोकी राष्ट्रिय खेलाडी देवु थापा २०४८ देखि प्रहरी जागिरमा छिन् । जिम्न्यास्टिकका चर्चित खेलाडी काठमाडौंका मटाकाजी महर्जनसँग सुदूरपश्चिमकी थापाले विवाह गरिन् । अज्ञात चिठीबाट सुरु उनको प्रेमले उनीहरुलाई जीनवभर सँगै बनाइदियो । एघारौं सागमा भाग लिन बंगलादेश गएकी उनी लिफ्ट दुर्घटनामा घाइते भइन् । प्रहरी अस्पतालको बेड नं १० मा उपचाररत उनले विवाहको बाह्र वर्षपछि आफ्नो प्रेमलाई यसरी सम्झिइन्:
बाबा बाहेक मलाई कसैले चिठी पठाउँदैनथ्यो । एक दिन नयाँ मान्छेको चिठी आयो । चिठीमा पठाउनेको ठेगाना, नाम केही पनि थिएन । चिठीभरि लेखिएको थियो, 'ओ यार, ओ यार, ओ यार । अर्को साल फेरि बिटिङ रिटिङमा भेटांैला ।'
कसले पठायो थाहा थिएन । चिठी पढेँ र कच्याककुचुक पारेर फालेँ । सँगै एउटा भाइ थियो राजु चौधरी । भन्थ्यो, 'कसले पठायो मलाई थाहा छ ।' नाम कहिल्यै बताएन । मैले चासो पनि दिइनँ । २०५३ मा प्रहरीको केन्द्रीय गेम थियो । गेममा दुवै सहभागी थियौं । गेम अघि मेरो खुट्टामा गाडाले चोट दियो । उपचारमा उनले पनि सघाए । मलाई सबैले निनी (फुपू) भन्थे र उनकी पनि फुपू थिएँ । उनीसँग प्रेमको कुरा मनमा एक रत्ति थिएन । उनले मलाई मन पराउँदा रै'छन् ।
कसोकसो प्रेम भयो । तर घुम्न हिंडिएन । प्रेम विहेमा बदलियो । 'पहाडकी छोरी काठमाडौंको ज्यापुसँग विहे गर्ने' भनेर धेरैले गाली पनि गरे । प्रहरी सेवामा विहेको सजायस्वरुप नौ चक्कर चौरमा कुद्न लगाइयो ।
अहिले परिवारसँग पनि राम्रो छ । १३ वर्षकी छोरी र ६ वर्षको छोरा छन् । खुसीसाथ बसेका छौं ।
पहेँलो स्वेटर उपहार
श्याम भट्टराई
रन्जना शर्मासँग चिनजान थियो । त्यो चिनजान बिस्तारै मेरो एकोहोरो प्रेममा बदलियो । उनलाई त्यो कुरा भन्ने अवसर पाएको थिइनँ । उनको र मेरो साथीबीच प्रेम सम्बन्ध थियो । म उनलाई मेरो भावना पोख्ने उचित अवसर खोजिरहेको थिएँ ।
२०६१ सालको भ्यालेनटाइनलाई त्यसका लागि रोजेँ । संयोग कस्तो भने मेरो साथी र उनको साथीबीच अफेयर्स थियो । बेला यही हो भनेर मैले पनि गिफ्ट दिने र मनको कुरा भन्ने आँट गरेँ । भेट्न गएँ । साथीले दिएको गिफ्ट उनको साथीले एसेप्ट गरिन् तर उनले मेरो गिफ्ट लिन मानिनन् । फ्रेन्डसिपका लागि भनेर सम्झाएँ ।
मैले पहेँलो स्वेटर र केही कार्ड दिएको थिएँ । त्यसपछि म सधैँ उनलाई त्यही स्वेटरमा हेर्न चाहन्थेँ । उनले कहिल्यै लगाइनन् । पछि बिस्तारै प्रेम सम्बन्ध बढ्यो र हामीले विवाह गर्यौं । म अहिले बुझ्छु, प्रेम अन्तिम सत्य रहेछ । व्याख्या गर्न सकिन्न । प्रेम पछ्याउदै जाँदा जिन्दगीमा धेरै कुरा छुट्न पनि सक्छन् । जीवनसँग अरु धेरै कुरा जोडिएको हुन्छ नि ।
एकैचोटी विहे प्रस्ताव
विश्वप्रकाश शर्मा
युवा नेता, नेपाली कांग्रेस
कविता सीएमए पढ्दै थिइन् । म नेपाल विद्यार्थी संघको सांगठनिक काममा थिएँ । यही क्रममा भेट भयो । उनको पारिवार राजनीतिक पृष्ठभूमिको थियो । दाइ अखिलका नेता थिए ।
चिनजानको केही समयपछि मैले 'विहे गर्ने होइन ?' भनेर जिस्क्याएँ । उनी हाँसिन् मात्रै । यसैलाई मैले प्रेमको स्वीकृति ठानेँ ।
राजनीतिमा लागेका मेरा धेरै साथी रक्सी, पैसा र केटीमा फँसेका थिए । म त्यसबाट जोगिन चाहन्थेँ । चार वर्षसम्म मेरो गुपचुप प्रेम चल्यो । उनी स्थानीय छात्रबासमा होस्टल इन्चार्ज थिइन् । कार्यक्रममा बोलाउँथेँ । पुर्याउन जान्थेँ । त्यही बेला गफ हुन्थ्यो । जिन्दगीमा के मीठो लाग्छ ? भन्दा उनी सोझो हिसाबले चाउमिन भन्थिन् । खुसी कि सुख ? सोधेको भन्दा लजाउँथिन् र खुसी भन्थिन् । लिपिस्टिक किन नलगाएको भन्दा 'तपाईलाई मन पर्छ ?' भन्थिन् ।'
अहिले मलाई लाग्छ, प्रेमको अपूर्णता मान्छे असन्तुष्ट हुन्छ । भेजिटेरियन लभ
आगन्तुक खरेलगायिका
कर्णाली एयरमा काम गर्दा चन्द्र पुनसँग भेट भयो । उहाँ इन्जिनियर हुुनुहुन्थ्यो । हामी दुवै भेजिटेरियन भएकाले प्रत्येक दिन सँगै लन्चमा जान्थ्यौँ । यसले हामीलाई क्लोज फ्रेन्ड बनायो । त्यसको डेढ वर्षपछि भ्यालेनटाइनकै दिन ठमेल घुम्न निस्केका थियौँ । उहाँले विहेको प्रस्ताव राख्नु भयो । म केही बोल्नै सकिनँ, हासेँमात्रै । त्यसदिन हामी पिजा खाएर फर्कियौँ।
उहाँ राम्रो मान्छे भन्ने थाहा थियो । तर प्रेम नै गरिएला, विहे नै होला भन्ने सोचेको थिइनँ । पछि मेरो दाइसँग उहाँको कुरा भएछ । घरबाट स्वीकृति पाएपछि हाम्रो प्रेम झाङ्गियो ।
२०६१ सालमा उहाँ दुई महिनाका लागि भुटान जाँदा मैले एक्लो महसुस गरेँ । धेरै मिस गरेँ । मेरा लागि उहाँ चाहिने रहेछ भन्ने अनुभव भयो । उहाँ फर्केपछि हामी झन् नजिकियौँ । म यो कुरा सधैँ सम्झिन्छु । छ वर्ष प्रेम गरेर हामीले विवाह गर्यौं । गायनमा मैले उहाँको पुरै सपोर्ट पाएको छु ।
मलाई लाग्छ, प्रेम सपोर्ट र पार्ट अफ लाइफ रहेछ । थाहै नहुने गरी फिलिङ्समा सुरु हुने रहेछ ।
No comments:
Post a Comment